Monday, February 28, 2011

गजल,भेटे जिन्दगीमा

हराएको मुख्य पाता भेटे जिन्दगीमा |
पवित्र त्यो निश्चल नाता भेटे जिन्दगीमा |

साउँनको झरीले म रुझ्दै हिड्दा खेरि
ओत दिने दह्रो छाता भेटे जिन्दगीमा |

भौतारिदै मरेतुल्य आफै बन्दै थिएँ
अचानक जीबन दाता भेटे जिन्दगीमा |

मेरो हरेक दु;ख सुख बुझी माया गर्ने
मनको राजा त्यही साता भेटे जिन्दगीमा |

निराशाले चारैतिर ढाकेको यो मनको
खुशी दिने ठुलो  खाता भेटे जिन्दगीमा |

Sunday, February 27, 2011

गजल, सेवा गर्न अघि बढी ,

सेवा गर्न अघि बढी फुलाउँ छाती हामी
दिन दु;खीको आँसु पुच्छ्न बढौँ साथी हामी

जिन्दगानी कर्कलाको पानी जस्तै भन्छन्
बाचुन्जेल सकेसम्म बनौं जाती हामी |

आफ्नो सानो मद्दतले कोहि बाँच्छ भने
त्यस्तो कार्य गर्नलाई उठौँ माथी हामी |

आँफु बाँची अरुलाई पनि बचाउँ है
ज्ञानको ज्योति फैलाउँन बालौं बाती हामी |

एकले थुके सुक्छ अरे सबले थुके बग्छ
सबै मिली बगाउँन भरौँ पाथी हामी |

रिमा साईराम (सापकोटा)

Saturday, February 26, 2011

गजल,भन्थ्यौ कता गयौ ?

तिम्रै यादमा तड्पी रुन्छु भन्थ्यौ आज कता गयौ ?
तिमी बिना पागल हुन्छु भन्थ्यौ आज कता गयौ ?

जिन्दगीमा जस्तोसुकै बाधा अड्चन आए पनि
तिम्रो पिर ब्यथा सुन्छु भन्थ्यौ आज कता गयौ ?

तिम्रो सट्टा आफै आँसु धारा मैले बगाएर
तिम्रा सारा पीडा धुन्छु भन्थ्यौ आज कता गयौ ?

तिम्लाई खुशी राख्ने मेरो मनको धोको पुरा गर्न
धर्ती छोडि आकाश छुन्छु भन्थ्यौ आज कता गयौ ?

सयौ जुनी सम्म पनि मनकी रानी चुन्नु पर्दा
मैले मात्र 'रिमा' चुन्छु भन्थ्यौ आज कता गयौ ?

रिमा साईराम (सापकोटा)

Friday, February 25, 2011

गजल, मन पराएकी ,

तिमी भन्दा अरु  मन पराएकी छैन हेर |
तिम्लाई माया गर्छु भन्न डराएकी छैन हेर |

बिरानो यो मुलुकमा एक्लै बस्नु परे पनि
मन डुलाई नजर कतै चराएकी छैन हेर |

जति सुकै हिस्सी परि आवस अरु ठावैं छैन
तिमी नै छौ मुटु भित्र हराएकी छैन हेर  | 

तिम्रो आशा गरेकी छु तिम्रै भरमा परेकी छु
तिमी देखी यो मन टाढा गराएकी छैन हेर |

जुनी-जुनी सम्म हामी सँगै बाँच्न पाउँ भनी
मनै मनले देबी भाक्छु कराएकी छैन हेर |

रिमा साईराम (सापकोटा)

Wednesday, February 23, 2011

गजल,बाबा

हराएकी छैन बाबा बाध्यतामा परेकी छु
बिबस्ताले धकेल्दिदा सात समुन्द्र तरेकी छु

बाबा आमा देखी टाढा बनाएनी समयले
अब छिट्टै फर्की संगै बस्ने आशा गरेकी छु

मुटु खान्छ सम्झिएर बालापनका पलहरु
तिनै यादमा डुल्दै खेल्दै  यता उता सरेकी छु

परदेशमा रातदिन परिवारकै झल्को आउँदा
तस्बिर हेरी सम्झनामा आँसु बनी झरेकी छु |

पिजडाको चरीले झैँ आज मैले बाँच्नु पर्दा
दिन रात तड्पी तड्पी आफै भित्रै मरेकी छु |

  रिमा साइराम (सापकोटा)

Tuesday, February 22, 2011

गजल, तिम्रो उच्च शिर, आमा ,

तिम्रो उच्च शिर मैले झुकाएकी छैन आमा
भन्दैछु म मेरो कथा लुकाएकी छैन आमा |

आफ्नै हातको  पौरखले गरी खान पाएकोमा
गर्ब गर्छु आफै यो मन चुकाएकी छैन आमा |

दु;ख सुख जिन्दगीको नियम नै यस्तै भन्दै
संघर्षमा लड्दा मुटु  दुखाएकी छैन आमा |

को हो आफ्नो को पराई चिन्न गाह्रो हुदाँ यहाँ  
मनको गाँठो कतै पनि फुकाएकी छैन आमा |

एक्लै बस्दा अनायासै मोति दाना बर्सिएर  
भिजेका यी परेली नी सुकाएकी छैन आमा |

रिमा साईराम (सापकोटा)

गजल , नदि सरी ,,

नदी सरी मेरा आसुँ बग्दा खेरि पनि तिमी
हेरि रह्यौ उभिएर मुर्ति जस्तै बनी तिमी |

जिन्दगीमा कति दियौ चोटै मात्र सधैँ भरि
सक्छौ भने आफै सम्झी हेर न त गनी तिमी|

दु;ख सुख सघर्षमा पाएको त्यो मेरो साथ
बिर्सिएछौ क्यारे तिम्ले सोच्यौ एक्लै धनी तिमी |

खुकुरीको चोट मात्र अचानोले बुझेको छ
नभन भो अझै मेरो गल्ती छैन भनी तिमी

दुनियाँको अगाडी त देवता झैँ बन्दै हिड्छौ
मेरा लागी भयौ किन? बिग्रिएको शनि तिमी |

रिमा साइराम (सापकोटा

गजल , रुन पाए

माग्दिन म अरु केही तिम्रो काखमा रुन पाए
मन बुझाई बस्ने थिएँ मात्रै पाउ छुन पाए |

तिम्रै नामको सिन्दुर पोते नलगाए पनि मैले
खुशी हुन्थे तिमी सँग मनको गाँठो फुन पाए |

जीबन भरि साथ देउ भनि गुहार माग्नु भन्दा
सम्हालिदै बस्थे बरु मनको बह धुन  पाए |

बिर्सिदिन खोज्दा झनै सम्झनाले  सताउँछ
खोजी-खोजी लिन्थे मैले तिम्लाई भुल्ने गुन पाए |

हराउँदै गए पनि मेरो मनको आशा जति
केही छैन पुग्छ मलाई बल्दो चिता हुन पाए |

रिमा साईराम (सापकोटा)

Friday, February 18, 2011

गजल , चुनिसके मैले

तिमीलाई जीबन साथी चुनिसके मैले |
ढुकढुकीको तिम्रो आवाज सुनीसके मैले |

तिम्ले दिने चोखो माया जिन्दगीमा मेरो
सुख शान्ति सम्झिएर गुनिसके मैले |

हाम्रो बारे निकै चर्चा चलाउने सबै
दुनियाको अब मुख थुनिसके मैले |

अजम्बरी बनिदियोस् हाम्रो माया भन्दै
सम्झनालाई जाली रुमाल बुनिसके मैले |

संगै बाँच्ने संगै मर्ने चाहना त्यो हाम्रो
पुरा गर्न बरमाला उनिसके मैले |

गजल,कम्जोर हुन्न अब ,

समाल्नेछु आफुलाई म त कम्जोर हुन्न अब
निर्दयी को बचन सम्झी कहिलेनी रुन्न अब |

मेरो बारे नचाहिदो चर्चा गरी ठुलो बन्न
चलाएको मुख मैले जानेकी छु थुन्न अब |

सिस्नुघारी रैछ जहाँ त्यही फूल्न बाध्य भएँ    
तर पनि लाग्दिन भो अर्को बाटो चुन्न अब |

बाध्यताले जिन्दगी यो फसे पनि अंधेरीमा
साहस् गर्दै अघि बढ्छु आसुँले मन धुन्न अब |

आफ्नो मनको रहर मारी अरुको नै खुशी हेर्न
छोडीसके आशाका ति ताना मैले बुन्न अब |

रिमा साईराम (सापकोटा)

गजल,पस्न नखोज भो ,

छैन ठाउँ यो दिल भित्र अब पस्न नखोज भो
बिषालु त्यो नागले झैँ सधैँ डस्न नखोज भो |

मुखले चिप्लो पार्दै तिम्ले मनमा काल कुट बोकी
अझै मेरो मुटु भित्र छुरा धस्न नखोज भो |

दुनियाँका ती नजरमा गिराउँन खोज्दै मलाई
आँफु मात्र इमान्दारी हुदै बस्न नखोज भो |

आसुँ पुछ्नु पर्ने ठाउँमा जीबनभरि रुवाएर
मेरो पापले जानी-जानी नर्क फस्न नखोज भो |

सिधा बाटो हिड्नेलाई काँडाले नि कोर्दैन रे
मलाई पार्ने खाल्टो खन्दै आफै खस्न नखोज भो |

रिमा साईराम (सापकोटा)  

Tuesday, February 15, 2011

गाजल , मूशायरा , भाग ७

छोडी गयौ धन रोज्दै मेरो झुप्रो पाली छैन
जोडी गयौ नाता अन्तै सम्बन्धको आली छैन  |

भन्ने गर्थ्यौं तिमी बिना बाच्नै गाह्रो हुन्छ मलाई
तोडी गयौ बाचा सबै त्यसको लागी ताली छैन |

मिठा-मिठा सपनामा रोपेका ती फूलका बोट
गोडी गयौ जरै काटी पलाउने डाली छैन

दुई मुटु एकै पारि बाच्ने आशा देखाएर
मोडी गयौ तिम्ले मन तर पनि गाली छैन |

तिम्रो मनमा मैले  चोट पुर्याउने छैन भन्दै
फोडी गयौ मुटु मेरो अब कतै खाली छैन |

रिमा साईराम (सापकोटा) 

गाजल , नाम दिउँ आज


हाम्रो चोखो मायाको त्यो नाम दिउँ आज
बिहानीको लाली छर्ने घाम दिउँ आज |

माया बिना संसार यो अधुरो नै होला
मुटुलाई माया गर्ने ठाम दिउँ आज |

चैतमास खडेरी झैँ जिन्दगीमा हामी
ढकमक्क फूल फुल्ने याम दिउँ आज |

मिठा-मिठा पिरतीका कुराहरु लेखी
प्रेम-पत्र राखेको त्यो खाम दिउँ आज |

माया भए पुग्छ केही चाहिदैन अरु
सम्झनामा पिरतिको गाम दिउँ आज |

रिमा साईराम (सापकोटा)

Sunday, February 13, 2011

गजल,मुसयारा भाग-६

हामी सबै समान हौ जातको कुरा नगरौ
बिश्वासमा चल्न सिकौ घातको कुरा नगरौ

फक्रिएको फूलसरी सबैको मन जितेर
डालीबाट झरेको त्यो पातको कुरा नगरौ |

पर्खी बसे पक्कै पनि आउँछ दिन सुनौलो
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौ |

निस्वार्थ त्यो भावनाको भुलेर बाटो कहिलै
आफै तल पर्ने स्वार्थि साथको कुरा नगरौ |

नशा लाग्यो भन्दै त्यस्तो पारेर जाली बाहना
मदहोस्मा पिएको त्यो मातको कुरा नगरौ |  

Wednesday, February 9, 2011

गजल ,१,२,र ३

गजल = १

 बितिसके धेरै दिन अझै कति टार्छौ तिमी ?
 मेरो माया छैन भने ठिक्क किन पार्छौ तिमी ?

 राजीखुशी लाको माया अहम्तामा तोड्छौ भने
आउँदिन भो तिम्रो बाटो बार किन बार्छौ तिमी ?

हात थामि जीवनभर साथ दिन नसक्नेले
झुटो बाचा कसम खादै तारा किन झार्छौ तिमी ?

हिड्दा हिड्दै रोकिएर हराउँने गर्छौ फेरी
अझै अघि बढाएर पाईला किन सार्छौ तिमी ?

तिम्रै यादमा तड्पिएर बाच्ने छु म अन्तिम् सम्म
सक्छौ ? मलाई मार बरु माया किन मार्छौ तिमी  ?

गजल = २


डुली हिड्ने भमराको हुलमा घुल्न थाल्यौ
फुलको रस चुस्दै-चुस्दै तिमी डुल्न थाल्यौ |

सोच्नै छाडी भविष्य के होला भन्ने पनि
जता मिल्छ मिठो स्वाद त्यतै भुल्न थाल्यौ |

कोहो शत्रु को हो मित्रु नचिने झैँ तिम्ले
आफ्नो मनको सारा कुरा त्यसै खुल्न थाल्यौ |

जिन्दगीलाई मात्र खेल सम्झीएर हो कि ?
दिन-दिनै मदिरामा रम्दै झुल्न थाल्यौ |

अर्ति दिदा गालि सम्झी रिसाएर सधैँ
त्यसै तिमी आफ्नै  शुरमा माथि चुल्न थाल्यौ |



गजल =३

अनायासै अतीतलाई सम्झी रुदैछु म
आँशु झारी मनका दर्द पीडा धुदैछु म

स्वार्थी तिम्रो  मनलाई चिन्न ढिलो गर्दा
पश्चातापले पोल्दै आज एक्लो हुदैछु म |

आफै जस्तो सोची छिट्टै बिस्वास गरिदिने
रैछ मेरो कमजोरीपन बल्ल बुझ्दैछु म |

त्यति धेरै भर परि बस्दा खेरि आज
किन यस्तो गर्यौ भन्दै मनले गुन्दैछु म |

मैल जति रुनु परे पनि तिम्रो लागि
तिमी खुशी हुनु भन्दै देउँता पुज्दैछु म |



रिमा साईराम (सापकोटा)

Tuesday, February 8, 2011

गजल ,सरस्वती माता ,

माता तिम्रो चरणमा आएकी छु आज
धुप बत्ति बाल्दै भजन गाएकी छु आज |

सुनी देउ मेरो पुकार विधादेवी माता,
तिमीलाई सामु पाउँदा रमाएकी छु आज ।।

सद्बुद्दीको आशिर्बाद छरिदेउ भन्दै
तिम्रै नाउँ जपी खुशी भएकी छु आज |

ज्ञानको ज्योति फैलाइदेउ चारैतिर भनि
बिन्ति गर्दै मठ मन्दिर धाएकी छु आज |

गर्ब गर्छु यही कुरा खेलाउँदै मनमा
धन्य तिम्रो शिष्य हुन पाएकी छु आज |

रिमा साईराम (सापकोटा )

Monday, February 7, 2011

गजल, सम्झिएर रोएँ ,


प्रदेशमा आफ्नो गाउँ सम्झिएर रोएँ
प्रियतमको सुन्दर नाउँ सम्झिएर रोएँ |

घर जग्गा धितो राखी लिएको त्यो ऋण
जोडी-जोडी ब्याज साउँ सम्झिएर रोएँ |

मिलिजुली दु;ख सुख साटी बसेको त्यो
प्राण भन्दा प्यारो ठाउँ सम्झिएर रोएँ |

बाध्यताले टाँढा हुदाँ दुखेको यो मनको
 चर्किएको आलो घाउ सम्झिएर रोएँ |

फर्किएर आफ्नै देश जान्छु भनि सोच्दा
महंगी त्यो बजार भाउ सम्झिएर रोएँ |

रिमा साईराम (सापकोटा)

Saturday, February 5, 2011

गजल , जिएकै थिएँ


पीडाले पिल्सी जिएकै थिए
आशुको प्याला पिएकै थिए |

तिमीलाइ मेरो सर्वस्व सम्झी
सकेको खुशी दिएकै थिए |

बुझेनौ क्यारे भएन थाहा
तिम्रो पिर मैले लिएकै थिए |

सोचेर सधै भबिस्य हाम्रो
चिन्तामा डुबी खिएकै थिए |

तिमी नै बाच्ने आधार भनि
फाटेको मन सिएकै थिए |

रिमा साईराम (सापकोटा)

०५/०१/२०११/

गजल , काटेर गयौ ,

नौ डाडा पारि काटेर गयौ
फर्कन्छु भनि ढाटेर गयौ

रसिला कुरा गरेर सधै
प्रेमको डोरी बाटेर गयौ

नबुझी मेरो यो सच्चा दिल
पैसामा तिम्ले साटेर गयौ

गरेछौ अर्थ बिहिन माया
प्रेमको प्याला चाटेर गयौ

०७/०१/२०११

गजल , टुटे जस्तो लाग्यो ,


हिड्दा हिड्दै बाटो नै छुटे जस्तो लाग्यो |
बेसुरमै  कसैले  कुटे  जस्तो   लाग्यो |

जसोतसो जिन्दगि  चल्दै जाँदा खेरि
विधाताले मलाई नै लुटे जस्तो लाग्यो |

धर्खरिदै  सागर त्यो पार गर्दै-गर्दै
झमझमे  झरीले कुटे जस्तो लाग्यो |

समयलाई नबुझी अघि बढ्न खोज्दा
आफै बाट जिबन यो टुटे जस्तो लाग्यो |

भाग्य पनि एक्कासि   थाहै नदिएर
शिसा सरी चर्किदै फुटे जस्तो लाग्यो |

रिमा साईराम (सापकोटा )

गजल , पबित्र त्यो बन्धनलाई ,


पबित्र त्यो बन्धनलाई तोड्यौ तिमीले |
फुल छोडी काँडालाई गोड्यौ तिमीले |

भर पर्दो साथी बन्छु भन्दै आखिरमा
दोबाटोमा ल्याएर पो छोड्यौ तिमीले |

जुनी-जुनी संगै जिउँने बाचा भुलेर खै
कसो गरी मन मुटु  मोड्यौ तिमीले |

 अधुरो नै पारि हाम्रो प्रेम कहानी
अर्कै सँग आज नाता जोड्यौ तिमीले |

दुईदिनको रमझममा तिमी रमाउदै
साईनो बाँध्ने हाम्रो पर्खाल फोड्यौ तिमीले |

रिमा साईराम (सापकोटा) 

गजल , घायल जी को तरही मुशयारा १,२,३,४,र ५ -- पाँच गजलहरु

तरही मुशयरा भाग - ५ पाँच


कति लेखें गीत मैले पसी खोज्नु साहित्यमा
बुझ्ने भए मेरा  ब्यथा बसी खोज्नु साहित्यमा

बोरानो यो मुलुकमा कति दु;ख भोगेकी छु
मेरो कथा बुझ्नलाई दशी खोज्नु साहित्यमा

लेख्छु भन्छु मन खोलि बिरहका भाका जति
सबै लेख्न कसरी खै मसी खोज्नु साहित्यमा

सकेसम्म कोरेकी छु यो मनको पीडा जति
 हेर्ने भए तिम्ले पनि फसी खोज्नु साहित्यमा

तिम्रो मेरो अधुरो नै रहेका ती प्रेम लहर
पार्ने भए यौटै गाठो रसी खोज्नु साहित्यमा |


मूशायरा भाग- ४

सम्झिनै नसक्ने गुनको बयान के गरौ
धर्तीको धुलो म जूनको बयान के गरौ |

लजालु मुस्कान नशालु हेराइ परेकी
स्वर्गकी परि झैँ उनको बयान के गरौ |

सुरिलो स्वरमा त्यो मिठो बोलीले बोलेको
सम्झिदा बासुरी धुनको बयान के गरौ |

हिरा नै होलाकी मनमा साचेर राखेकी
हिराको अगाडी सुनको बयान के गरौ |

धनमा चल्छन दुनिया स्वार्थि छ जमाना
माटोको अगाडी चुनको बयान के गरौ |

मुशयरा भाग -३



गुमायौ  पुर्खा को निशान कुर्सीको कारण
छोड्दैछौ लेख्न संबिधान कुर्सीको कारण

मुखमा राम् राम् बगलीमा छुरा नै राखेर
देखायौ आफ्नो पहिचान कुर्सीको कारण

देशमा शान्ति छाएन खै कतै नि किन त ?
सधैँ छ आज हानाहान कुर्सीको कारण |

गरिब सोझा जनताको पसीना चुसेर
देखाउँदै हिड्छौ अझै शान कुर्सीको कारण

खाएर पनि नराम्ररी गालामा झापड
गर्दैछन् अझै तानातान कुर्सीको कारण |

 मूशयरा भाग -२



सत्ते कुरा नबोलेर लुकाएको पाप लाग्ला
कमलो यो मन मेरो दुखाएको पाप लाग्ला |

आउँछु भनि भेट्न सधैँ देउरालीमा कुराएर
आशा देखाई मुटु मेरो टुक्राएको  पाप लाग्ला

चोखो  मेरो मायालाई हेला गरे पछी पक्कै
रिसाउदै  सधैँ भरि घुर्क्याएको पाप लाग्ला |

यो दु;खीको मनबाट टाढै हुन खोजेदेखी
पलपल तड्पाएर रुवाएको पाप लाग्ला |

तितो हुन्छ ओखती यो खाउ भन्दै झुक्काएर
अमृतमा बिष  हाली खुवाएको पाप लाग्ला

मूशायरा भाग -१



तिम्रो निम्ती सुनौलो त्यो भोलि लिई आउँछु |
मधुरसले भरिएको  बोली लिई  आउँछु |

स्वच्छ खाली तिम्रो  सिउँदो भरि सजाउँन
खुशी हुदै सिन्दुरको  होलि लिई आउँछु |

मेरै निम्ती चोखो माया राख्नु सम्हालेर
हात थाप्दै खाली दिलको झोली लिई आउँछु |

 बस्नु तिमी बाटो हेर्दै सोह्र सिंगार गरी
म घोडामा तिम्रो लागि डोली लिई आउँछु |

रिमा साईराम (सापकोटा)

गीत, प्रदेशमा ,

प्रदेशमा नजाउ भन्दा गयौ तर्केर
काम गर्न गाह्रो भए आउ भो फर्केर

आफ्नै गाउँ घरमा दु;ख सुख गरौला
साथ साथै जिन्दगीको खोलि तरौला
सम्झाउँदै थिएँ म त गयौ झर्केर
काम गर्न गाह्रो भए आउ भो फर्केर

सम्पति नै सबै कुरा हैन भनेर
खाउँला बरु खुशी हुदै खेत खनेर
फुलको डाली  लर्के जस्तै गयौ लर्केर
काम गर्न गाह्रो भए आउ भो  फर्केर

प्रदेशमा नजाउ भन्दा गयौ तर्केर
काम गर्न गाह्रो भए आउ भो फर्केर

रिमा साईराम (सापकोटा)

गजल ,तिम्रै यादमा

तिम्रै यादमा टोलाएर हराउँन थालेकी छु |
दिन दिनै एक्लै म त बर्बराउँन थालेकी छु |

रमझम खुशियाली भन्दा पनि आज भोली  
 एकान्त पो झनै मन पराउँन थालेकी छु |

जता हिड्न खोज्छु त्यतै सम्झिएर टोलाउँदै
बेसुरमा पाइलाहरु लर्खराउँन थालेकी छु |

सपनीमा आउँदा सधैँ तिमी मेरो समीपमा
निन्द्राबाट झस्किएर कराउँन थालेकी छु

मेरो मात्र एकोहोरो माया हो की भन्दै फेरी
भित्र-भित्रै कैले-काहिँ डराउँन थालेकी छु |

रिमा साईराम (सापकोटा)

Wednesday, February 2, 2011

गजल,पाइर'न

शुभेक्ष्याका थुँगाहरु पाइर'न सकुँ |
शुभेच्छुकका मन मुटुमा छाइर'न सकुँ |

सुख सयल भन्दा पनि जिन्दगीमा मैले
संघर्षका बाटाहरु धाइर'न सकुँ |

दु;ख सुख  हाँसो रोदन यस्तै रैछ भन्दै
जिन्दगीका मिठा गीत गाइर'न सकुँ |

मधुरसले भरिएको मिठो बोली दिदै  
सबै सँग स्वच्छ नाता लाइर'न सकुँ |


रिमा साईराम (सापकोटा)